हेटौंडा – छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा ६० जना पक्राउ परेका छन् ।
लमजुङ सुन्दरबजार नगरपालिका–१ दुरागाउँ बस्ने रुपा दुराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय राम बहादुर दुरा समेत १३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ, ईलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी कुन्छाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १ सय २३ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यसैगरी लमजुङकै बेसीशहर नगरपालिका–११ चितिस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सुदिप सुयल समेत २५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद १ लाख २१ हजार २५ रुपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
त्यस्तै तनहुँ भानु नगरपालिका–५ सेपाबंगैचा बस्ने ४४ वर्षीय शिव कुमार श्रेष्ठको रक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ सहित १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८७ हजार ५ सय २० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका–७ वनगाई बस्ने ४७ वर्षीय रामु भुषालको जुनकिरी होटलमा जुवातास खेलिरहेको अवस्थामा भुसाल समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद १ लाख ३६ हजार ८ सय १५ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।