सिन्धुपाल्चोक। जिल्लाको भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने तातोपानी नाका कोदारी (इको)मा सडक भासिँदा बिहीबार पुनस् ठप्प भएको छ ।
इलाका प्रहरी कोदारीकाअनुसार कोदारी राजमार्ग (२६ किलोमिटर) को कोदारी इकोमा सडक भासिएर तातोपानी नाका बन्द भएको यो चौथो पटक हो ।
सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयसँग समन्वय भइसकेको र पहिरो पन्छाउने प्रयास थालिएको जनाइएको छ ।
चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठले सडक खुलाउन काम भइरहेको र एक घण्टामा खुल्ने जानकारी दिए ।
सडक खोल्न प्रयासरत छौं, बर्खाभर सडक भासिने क्रम नरोकिँदा तातोपानी नाकामा समस्या भएको छ, सडक सहज बनाउने प्रयासमा छौं, उनले भने ।
अन्तर्राष्ट्रिय कोदारी राजमार्गको कोदारीमा आइतबार पनि सडक भास्सिएको थियो ।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेसँगै भन्सार प्रक्रियाका लागि चीनबाट सामान बोकेर छुटेका दर्जनौँ कन्टेनर लिपिङमा रोकिएका छन् ।
यसअघि यही स्थान, खकुण्डोल र कोप्लाङको अवरुद्ध हटाएर सडक सहज बनाइएको थियो, जसमा दुई एक्स्काभेटर प्रयोग गरिएको थियो ।
हाल लार्चामा बेलिब्रिज जोडिएको छ । कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भास्सिएपछि नाका बन्द भएको थियो ।