काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टिममा पूर्व कप्तान सन्दीप लामिछाने भने परेका छैनन् । क्यानले सन्दीप लामिछानेको स्थानमा प्रतिस जिसीलाई राखेको छ । बलात्कार आरोप मुद्दका कारण विदेश लैजान कानुनी बाधा अवरोध हुने भएपछि सन्दीपलाई टोलीमा समावेश नगरिएको बताईएको छ ।
करिब ६ महिनापछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीपले सन्दिपले नेपालमा भएको त्रिकोणात्मक सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । सन्दिपको उत्कृष्ट प्रर्दशनमा चार खेलमा चार खेलनै जित्न सफल भएको थियो ।
नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम ढकाल रहेका छन् ।