काठमाडौं – नेपालले दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । जितसँगै नेपालले पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सिरिजमा १-१ को बराबरी गर्न सफल भएको छ ।यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो।
मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७.३ ओभरमा पार गर्यो। नेपालका लागि ओपनरद्वय कविता कुँवरले २६ रन र सीता राना मगरले २३ रन जोडे। विन्दू रावल १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्रीले नटआउट २९ रन जोडिन्। रुबिनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।
त्यसअघि मलेसियाले टस जितेर ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९७ रन जोड्यो। उसका लागि एनि दुराइसिंघम र वान जुलियाले २०-२० रन जोडे। मास एलियाले २८ रन जोडिन्। बलिङमा नेपालकी रुबिनाले २ विकेट लिँदा कविता कुँवर र इन्दू बर्माले १-१ विकेट लिए। जेठ १८ मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।