हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौंडामा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाईएको छ । हेटौंडामा बिभीन्न क्षेत्रका सरोकारवाला व्यक्तिको सहभागितामा ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
सुर्तीजन्य पदार्थको प्रयोग गरेमा पर्ने असरका विषयमा जनचेतनामूलक कार्यक्रम गरी मनाइँएको हो । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्यबन्द गर्न अनुरोध गरेका छन् ।
मन्त्री लामाले बालबालिकालाई प्रयोग गरिएको पाइएमा कारवाही गरिने र विक्री वितरणमा समेत बन्द गरिने बताए । सुरुमा आफुबाट प्रयोग नगर्ने प्रण गरौं र सबैलाई प्रयोग नगरौं भन्दै मन्त्री लामाले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र बजेट ल्याउने तयारीमा रहेकाले स्वास्थ्य र शिक्षामा बजेट राखेर यी यस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गरि समाजलाई सुर्तिजन्य पदार्थ रहित बनाउने बताए ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारपरिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो । प्रभातफेरीमा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको जनाइएको छ । यसको प्रभावकारी नियमन र कार्यान्वयन हुन सकेको छैन ।