हेटौंडा – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सदुरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएर अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । सो मध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि छपाएर वितरण शुरु भइसकेको छ । हालसम्म बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं. १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । आयोगका अनुुसार बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी शुरु हुनेछ ।