हेटौंडा – तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ सम्पन्न भएको छ। अवार्ड न्यु मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिबार हेटौंडास्थित एक समारोहकोबिच जर्नालिजम अवार्ड सम्पन्न भएको हो।
एकेडेमीले विभिन्न १३ विधामा मकवानपुरका १३ जना पत्रकारहरुलाई पुरस्कृत र सम्मान गरेको थियो । उत्कृष्ट पत्रकार अवार्डबाट ग्यालेक्सी टिभिका देवराज पन्त (पुरुष) र थाहा खबर डट कमकी सृजना नेपाल (महिला), उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट प्रदेश दैनिकका गणेश दर्पण अधिकारी, आर्थिक पत्रकारिता अवार्डबाट नयाँ पत्रिकाका सुदिप शिवाकोटी, खोज पत्रकारिता अवार्डबाट अनलाइन खबरका अमृत चिमरीया, सम्पादक अवार्डबाट मनहरी एफएमका शिवकुमार रिजाल काशी, अनलाईन पत्रकारिता वर्ष अवार्डबाट रातोपाटी डटकमका गणेश दुलाल, नवप्रवेसी पत्रकारीता अवार्ड पुरुषतर्फ खबरब्रेकका सुमन दाहाल, नवप्रवेसी पत्रकारीता अवार्डमहिला तर्फ पहिलो पोस्टकी निसा गुरुङ, क्रियाशील पत्रकारिता अवार्डबाट प्रष्ट खबर डटकमबाट सुनिल शिवाकोटी, कला पत्रकारिता अवार्डबाट टिम टेलिभिजनका कपिल खड्का, रेडियो पत्रकारीता अवार्डबाट रेडियो मकवानपुरकी सम्झना रिजाल र टेलिभिजन पत्रकारिता अवार्डबाट कान्तिपुर टिभिका बालकृष्ण अधिकारी पुरस्कृत भएका छन् ।
विधामा अवार्डसँगै पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट पत्रकार वर्ष अवार्डलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । अवार्ड वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।
एकेडेमीले २०७५ सालबाट दिदै आएको अवार्ड कोरोनाको कारण दुई वर्षपछि यस वर्ष प्रदान गरिएको एकेडेमीका अध्यक्ष मणिराज गौतमले बताए । एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो भने दोस्रो २०७६ मा हेटौंडामा गरेको थियो ।