हेटौंडा – भुटनीज युथ स्पोर्टस् क्लब पाँचौ बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै भुटनीज युथ सेमिफाइनलमा प्रवेश गरेको हो ।
भुटनीज युथलाई जित दिलाउनका लागि दिरज थजालको हेड र हेक्टर ओर्टेग एक–एक गोल गरे । हेडले पहिलो हाफको दोस्रो मिनेटमै गोल गर्दै १–० को अग्रता दिलाएका थिए । त्यस्तै ओर्टेगले दोस्रो हाफ अर्थात खेलको ८३ औँ मिनेटमा गोल गर्दै भुटनीज युथलाई २–० को जित दिलाए ।
यसअघि आर्मीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हिमालयन शेर्पा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ । अब भुटनीजले फाइनल प्रवेशका लागि जावलाखेल युथ क्लबसंग पुष ३० गते प्रतिस्पिर्धा गर्नेछ । जावलाखेल उद्धघाटन खेलमा आयोजक टिम बागमती खेलकुद विकास समितिलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
शुक्रबार संकटा क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ । एपिएफ मच्छिन्द्र क्लबलाई पराजित जित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । एपिएफ र संकटाबीचको विजेताले माघ १ गते मकवानपुर– ११ संग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । मकवानपुर–११ ले नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता विजेताले ८ लाख र उपविजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ । प्रतियोगितामा ७ विभागिय टिमसहित अन्तर्राष्ट्रिय र स्थानीय गरी १० टिमको सहभागीता रहेको छ ।