प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मकवानपुरगढीको कांग्रेसमा भाँडभैलो, सामूहिक राजिनामाको घोषणा

२०७९ बैशाख १२, सोमबार ०४:२३ बजे

हेटौंडा– टिकट बाँडफाँडको बिषयमा नेताहरुबीच असन्तुष्टी बढ्दा नेपाली कांग्रेस मकवानपुरगढीमा भाडभैँलो मच्चिएको छ । सोमबार विहान कांग्रेस ७ नम्बर वडाका कांग्रेसका नेताहरुले सामुहिक राजिनामाको घोषणा गरेका छन् ।

कांग्रेस जिल्ला समितिले पार्टीका नेता र कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै कांग्रेसका नेताहरुले राजिनामा दिने घोषणा गरेका हुन् । कांग्रेस ७ नम्बर वडाका प्रतिमान रुम्बा, सुर्यबहादुर विक, अकल बहादुर दोङलगायत ११ जनाले सामूहिक राजिनामा दिएका हुन् । उनीहरुले ७ नम्बर वडाका कार्यकर्ताको पीडा, मार्का र जनताको भावनालाई नबुझी कांग्रेस जिल्लास्तरबाट जनभावना विपरित पेलेर गएको भन्दै राजिनामा दिएको बताएका हुन् । कांग्रेस नेता दोङले कांग्रेसको कुनैपनि भातृ संगठन र पार्टीको साधारण सदस्यसमेत नरहेन गरी अब कुनै जिम्मेवारीमा नरहेको जानकारी गराएका हुन् ।

सत्ता साझेदार पाँच दलीय गठन्धनको जिल्ला स्तरीय गठन्धनले मकवानपुरगढीमा कांग्रेसबाट अध्यक्षमा दोर्जे लामा स्याङ्तानलाई उठाउने निर्णय गरेको छ । कांग्रेसका नेताहरुले स्याङ्तानलाई फेरि टिकट दिएको भन्दै असन्तुष्टि बढेको छ । उनै स्याङतान गत निर्वाचनमा एमालेका बिदुर हुमागाईंसँग गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । कांग्रेस मकवानपुरगढीका नेताहरुले भूगोल अनुसार टिकट बाँडफाँड नगरेको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेस क्षेत्र नम्बर २ का संघीय सचिव बलराम घिमिरेले टिकट बाँडफाँडको विषयमा पार्टीभित्र असन्तुष्टि देखिएपनि एक भएर जाने बताए । ‘समस्या देखिएको छ । हाम्रो ७ नम्बर वडामा साथीहरुले राजिनामा दिएको सुनेको छु । हामी मिलाएर जान्छौं । अलिअलि समस्या भएपनि पार्टीको निर्णय मानेर जानुपर्नेम सबै एक छौं ।,’ घिमिरेले भने । उनले गठबन्धन गर्दा भूगोल मिलाउनु पर्नेमा त्यसो हुन नसक्ने देखिएको भन्दै पार्टीको निर्णय मान्नुको विकल्प नभएको प्रहर खबरलाई बताए ।

नेपाली कांग्रेस वडा नम्बर ५ का कोषाध्यक्ष राज्यबिक्रम घिमिरेले भूगोल नमिलाउँदै उम्मेदवार चयन गरेकोमा असन्तुष्टि व्यक्त गरे । गठबन्धनले गर्दा कांग्रेसमा असन्तुष्टि बढेको उनले बताए । ‘साविक गढीकै नेताहरुलाई टिकट दिइएको छ । भूगोलका आधारमा बाँडफाँड भएन । कांग्रेसमा ठूलो असन्तुष्टि छ । नेताहरुलाई निर्णय पुनरावलोकनका लागि आग्रह गर्दछु ।,’ घिमिरेले भने । पार्टीको निर्णयमा मान्नु पर्ने भन्दै उनले सम्भावित क्षतिलाई रोक्न नेताहरु गम्भिर हुनुपर्ने प्रहर खबरसँग धारणा राखे ।

गठबन्धनले भर्खरै उम्मेदवार टुंग्याएपनि मकवानपुरगढीमा नेकपा एमालेले घरदैलो अभियानलाई तीव्रता दिइरहेको छ । एमालेले मकवानपुरगढीको अध्यक्षमा बिदुर हुमागाईंलाई र उपाध्यक्षमा सन्तु थिङलाई उठाउने निर्णय गरिसकेको छ ।