हेटौंडा – मकवानपुर प्रहरीले १३०२ ग्राम ९६१ मिलिग्राम अबैध चाँदीका गरगहना सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलबारराति हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बारा फेटा गाउँपालिका वडा नं.३ बस्ने बर्ष ३४ को धर्मेन्द्र मुखियालाई उक्त चाँदीका गरगहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बीरगंजबाट हेटौडातर्फ आउदै गरेको प्रदेश २–०३–००१ ख ३६२८ नम्बरको यात्रुबाहक बसमा सवार भई आएका मुखियालाई शंका लागि रितपुर्वक खानतलासी गर्दा उक्त चाँदीका गरगहना प्रहरीले बरामद गरेको हो । उनले लगाएको आसकोट र बोकेको झोलाभित्र लुकाई छिपाई भन्सार छलि चोरी पैठारी गरी ल्याएको बिल बिजक समेत नभएको पाईएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मकवानपुर सुनचाँदी व्यवसायी संघ अनुसार उक्त चाँदीको गरगहनाको मुल्य १ लाख ५४ हजार ६६१ दशमलव ४७ पैसा हुन आउने प्रहरीको भनाई छ । उक्त अबैध चाँदीका समानहरु सहित मुखियालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।