हेटौंडा – नेपालको जंगलबाट लोप हुने अवस्थामा पुगेको सतिसालको बीउ उत्पादन गर्ने उद्धश्यले हेटौंडा–१९ बस्तीपुरस्थित जनहित सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । पाँचौं सामुदायिक वन दिवसको अवसरमा आयोजित बृक्षरोपणमा ३ सय भन्दा बढी सतिसालका बिरुवा रोपिएको हो ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमूख आतिथ्य तथा मन्त्रालयका सचिव यज्ञनाथ दाहालको विशेष आतिथ्यमा बस्तीपुरको उत्तरतर्फ भित्री बासुदेवको जंगलमा सतिसालको बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय राप्तीका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुले सतिसालको महत्व धेरै भएकोले स्थानीय उपभोक्ताले नै यसको संरक्षण गर्नुपर्ने बताएका थिए ।
विश्वमै दुर्लभ मानिने सतिसाल संरक्षणमा सामुदायिक वनहरुले चासो देखाउन जरुरी रहेको बताइएको छ । वैज्ञानिक नाम ‘डालबर्गीया लाटिफोलिया’ भनिने र व्यापारिक रुपमा ‘रोजउड’ भनेर चिनिने सतिसाल अति मुल्यवान काठ हो ।
फूल फूल्ने र कोशामा बीउ लाग्ने कालो तथा रातो धर्सा बुट्टा रंग हुने सतिसालको फर्निचर एकदमै महंगो मूल्यमा विश्वमा बिक्ने गर्छ । नेपालमा भने पहिले पहिले खुकुरीको बिंड बनाउनदेखि घिउ राख्ने भाँडो बनाउन सतिसाल बढी प्रयोग गरिन्थ्यो ।
त्यसबाहेक मन्दिरका टुँडाल, झ्याल, ढोका र अन्य घरायसी फर्निचरमा पनि प्रयोग भएको पाइन्छ । साजसज्जामा आकर्षक र वास्नादार हुने भएकोले सतिसाल सुगन्धित तेलका लागि पनि बिश्वबजारमा उत्तिकै प्रसिद्ध छ ।
सतिसालको काठ फर्निचरका लागि अत्यधिक बेचविखन भएकोले प्रजाति नै लोप हुने खतरामा पुगेपछि यसलाई ‘खतराको सूचीमा’ राखिएको छ । यति मूल्यवान सतिसाल जोगाउँदै हुर्काउने काममा जनहित सामुदायिक वनले सुरु गरेको हो । स्थानीयले अतिक्रमण गरेको वनक्षेत्रलाइ अतिक्रमणमुक्त गरी सतिसालको बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत शिव सापकोटा, जनहित सावउसका अध्यक्ष बिक्रम पण्डित, अरनिको मावि नेवारपानीस्थित ईको क्लबका अध्यक्ष स्वस्ति पौडेल, फेकोफन नगर संयोजक शम्भुप्रसाद न्यौपानेलगायतले सतिसालको महत्वका बारेमा बोलेका थिए ।
कार्यक्रममा निर्मल बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष बिष्णुहरि पण्डित, क्याम्पसप्रमुख सुभाषचन्द्र कँडेल, पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य, भलिबल संघ जिल्ला अध्यक्ष बसन्त सिटौला, वन कार्यालयका अधिकृतहरु ब्सन्तराज गौतम, शम्भु तामाङ, बच्चुराम सुबेदीलगायतको सहभागिता रहेको थियो ।