हेटौंडा – हेटौंडाको मुख्य बजार क्षेत्रका पसलहरु तिहारका सामानहरुले भरीभराउ छन् । नेपालीको दोस्रो ठूलो पर्व तिहारलक्षित गरेर घर सजावटका तथा पुजाका सामाग्रीहरु, भाइमसला, माला, लत्ताकपडा, टोपी, माटाका भाडा, भाइटिका, भाडाकुडा, झिलिमिलीका सामानहरु पसलहरुमा आर्कषक तरिकाले बिक्रीमा राखिएको देखिन्छ ।

विगत बर्षमा तिहार सुरु हुनुभन्दा दुई/चार दिन अगाडि नै किनमेल गर्न ग्राहकको घुँइचो लाग्ने गरेपनि यस बर्ष चहलपहल तथा व्यापार न्यून रहेको ब्यवसायीहरु बताउँछन् । भोलि (शुक्रबार) यमपञ्चक सुरु हुँदैछ ।
यमपञ्चकको पहिलो दिन धन त्रयोदशी अर्थात् धनतेरस । धनतेरसमा तामा, पित्तल, सुन, चाँदी खरिद गर्नु शुभ मानिन्छ । यस्तै कौडी र कमलगट्टा किनेर लक्ष्मी पूजामा सामेल गरी घरमा राखेमा कहिल्यै धनको कमी नहुने र मानसिक शान्ति मिल्ने विश्वास गरिन्छ । त्यस दिनदेखि तिहारका सामानको व्यापार राम्रो हुने आशमा छन् हेटौंडाका व्यवसायीहरु ।

शुक्रबारबाट तिहारको शुरु हुने भएपनि घर श्रृङ्गारको सामानको व्यापार ७५ प्रतिशत घटेको हेटौंडा उपमहानगरपालिका वडा नं.४ सिमाचोकका जय श्रृङ्गार स्टोर्सका सञ्चालक प्रताप सिंह क्षेत्रीले बताउँछन् । ‘पहिले तिहार शुरु हुनुभन्दा अघिदेखि नै दैनिक ३०/३५ हजार व्यापार हुन्थ्यो, अहिले दैनिक १० हजारको व्यापार हुन पनि मुस्किल छ, उनले भने, आशा छ शुक्रबारबाट तिहार सुरु हुन्छ, ब्यापार पनि सन्तोषजनक हुनेछ ।’

मकवानपुर भाडा ब्यवसायी संघका महासचिव संजय प्रसाद रौनियार भन्छन्, ‘भाडाकुडाको व्यापार कोरोना महामारी देखिनै गिरावट छ, तिहारमा भाडाको ब्यापार धनतेरसदेखि राम्रो हुन्छ भन्ने आश छ ।’

‘भाइमसलाको ब्यापार सन्तोष जनक नै छ,’ हेटौंडा–४ बुद्धचोकका अनिश किराना स्टोर्सका सञ्चालक अनिशमान श्रेष्ठले भने, ‘यमपञ्चकसंगै ब्यापार पनि वृद्धि हुन्छ भन्ने विश्वास छ ।’ उता लामो समयदेखि खस्किएको सुनचादीको ब्यापार पनि केही सुधार भएको सफल सुनचादी पसलका सञ्चालक सफल दुधराजले बताए ।

त्यस्तै कपडा, झिलिमिली बत्ति, पुजा लगायतका सामाग्रीहरुको ब्यापार पनि बढ्ने ब्यवसायीहरुको आकलन छ । तर, कोरोना संक्रमणपछि तिहारमा आवश्यक पर्ने सामाग्रीहरुको मूल्य अत्याधिक वृद्धि भएको उपभोक्ताहरुको गुनासो छ ।



