काठमाडौं – विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठक रहेका छन् । उनलाई आज (बुधवार) नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
उनले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका पाठकलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।