हेटौंडा – कानूनी व्यवस्था अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले शपथ लिएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने हुन्छ । तर, बागमती प्रदेशका १० जना सांसदले सम्पति विवरण बुझाएका छैनन् ।
बागमती प्रदेशसभाका सदस्यहरुले २०७९ साल पुस १४ गते प्रदेशसभामा सपथग्रहण गरेका थिए । सपथ लिएको दुइ महिना भित्रमा सम्पति विवरण प्रदेशसभामा बुझाउनुपर्ने कानूनी व्यवस्था रहेपनि त्यो अवधि फागुन १४ गते पुगिसकेको छ । तर, अझै पनि १० जना सांसदहरुले सम्पति विवरण नबुझाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिए ।
प्रदेशसभा सचिवालयले सबै सांसदहरुलाई सम्पति विवरण बुझाउनका लागि सूचना पनि गरेको थियो । बारम्बार ताकेता पनि गरेको थियो । तर, दश जना सांसदहरुले सम्पति विवरण नबुझाएका हुन् ।
भ्रष्टाचार निवारण ऐनको दफा ५० (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन दफा ३१ (क) (१) ले सार्वजनिक पद धारण गरेको व्यक्तिले शपथ लिएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । विवरणमा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहित उल्लेख गर्नुपर्छ ।
ऐनको दफा ५० (२) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्तिको विवरण पेस गर्न नसक्ने अवस्था भएमा कारण खुलाएर म्याद थपका लागि अनुरोध गर्न पाउने व्यवस्था छ । सम्बन्धित निकाय वा अधिकारीले बढीमा ३० दिनसम्मको म्याद थप्न सक्छ ।
उपदफा (३) मा थप समयभित्र पनि सम्पत्तिको विवरण पेस नगरे सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।