हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लिपुरस्थित प्रहरीले १३७ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
पुस ६ गते बिहान ४:४५ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा राक्सिराङ गाउँपालिकाबाट जैसिङतर्फ लागूऔषध बोकेर आउँदै गरेको समूहलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो।
राप्ती खोला तर्दै गरेका अन्दाजी १०–१२ जनाको समूहले प्रहरी देख्नासाथ बोकेका भारी फालेर फरार भएको थियो। उक्त स्थानमा छानबिन गर्दा प्लास्टिकले मोडेर डोरीले बाँधिएको अवस्थामा कुल १३७ किलोग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फरार व्यक्तिहरूको पहिचान तथा खोजतलास कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनाले लागूऔषध ओसारपसारमा संलग्न आपराधिक समूहको सक्रियता प्रस्ट पार्दै प्रहरीको सतर्कता र सक्रियता पनि पुष्टि गरेको छ।
थप अनुसन्धान जारी रहेको र दोषीलाई कारबाहीका लागि सबै कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।