प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडा अस्पतालमा रेबिज भ्याक्सिन अभाव, जनस्वास्थ्य जोखिममा

२०८२ असार २३, सोमबार १६:५३ बजे

हेटौंडा  । बागमती प्रदेशअन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा रेबिज (हाइड्रोफोबिया) बिरुद्धको खोप अभाव भएको छ।

अस्पताल प्रशासनले आइतबार (२२ गते) एक सूचना जारी गर्दै रेबिज भ्याक्सिन अभावका कारण तत्कालका लागि सेवा स्थगित गरिएको जानकारी दिएको हो।

अस्पताल प्रशासन प्रमुख गोविन्द प्रसाद पुडासैनीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “हेटौंडा अस्पतालमा अन्य सम्पूर्ण समयमा प्रदान गरिँदै आइरहेको रेबिज भ्याक्सिन सम्बन्धी सेवा भ्याक्सिन अभावका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।”

सूचनामा सेवा स्थगनबाट उत्पन्न असुविधाप्रति क्षमा पनि मागिएको छ। रेबिजको खोप कुकुर, बिरालो वा अरू जनावरको टोकाइपछि जनजीवन बचाउनका लागि अत्यन्तै जरुरी उपचार मानिन्छ। यस्तो संवेदनशील विषयमा खोप नै अभाव हुनु गम्भीर लापरवाहीको संकेत हो।

अस्पतालले सेवा स्थगनको सूचना जारी गरे पनि खोप आपूर्ति नहुने कारण, विकल्प वा समाधानका विषयमा भने कुनै स्पष्ट जानकारी दिएको छैन। 

स्थानीय बासिन्दा जोखिममा हेटौंडा र आसपासका क्षेत्रमा कुकुरको टोकाइका घटनाहरू बारम्बार हुने गरेका छन्। अहिले भ्याक्सिन कहिले आउँछ, कहिले सेवा पुनः सुरु हुन्छ भन्ने कुनै निश्चित समय उल्लेख नभएकोले आमनागरिक अन्योलमा परेका छन्।

यस्तो अवस्थामा भ्याक्सिन अभाव हुनुले सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयको गुनासो छ। “अब कसरी उपचार गराउने ? निजी अस्पताल जाँदा खर्च धान्नै नसक्ने स्थिति छ,” हेटौंडा उपमहानगरपालिकाका एक पीडितले प्रतिक्रिया दिए।

Open photo