प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार, राम्रोसँग बोल्न थाले

२०७९ फाल्गुन १३, शनिबार १४:४९ बजे

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका भण्डारीको स्वास्थ्यमा सुधार आएको हो।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका उनको शरीरको तापक्रम, धड्कन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए।

उनको आज ड्रेसिङ गरिने भएको छ। शुक्रबारबाट ठोस खाना खान सुरू गरेका उनले राम्रोसँग बोल्न थालेको मीनप्रसादले बताए। उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।

गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो। सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो।