प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमती प्रदेश खेलकुदमा लोपोन्मुख सालकको ‘मस्कट’: संरक्षणकर्मी खुसी

२०८० जेठ ९, मंगलबार १४:५२ बजे

हेटौंडा – हेटौंडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद २०८० को प्रतीक चिन्हमा लोपोन्मुख वन्यजन्तु सालक अंकित गरिएकोमा सालक संरक्षण अभियानकर्मीहरु उत्साहित बनेका छन् ।

सालकको संरक्षणका लागि केही पहल गर्दै आइरहेका डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले वन्यजन्तु संरक्षणको बिषयलाई खेलक्षेत्रले पनि सम्बोधन गरेको भन्दै बागमती प्रदेश सरकारलाई धन्यवाद दिए ।

‘हामीले संरक्षणका लागि प्रचारात्मक काम गरेका थियौँ’, आचार्यले भने–‘सालक दिवसलाई साताब्यापी मनाउने र मकवानपुर जिल्लाको गौरवको जनाबरको रुपमा घोषणा गर्नेगरी हामीले थालेको कामलाई खेलक्षेत्रले पनि सम्बोधन गरेको छ, यसमा औधी खुसी लागेको छ ।’

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ । सालक संरक्षणका लागि बागमती प्रदेश सरकार, संघीय सरकारसहित गैरसरकारी निकायहरुमा पनि ध्यानाकर्षण हुँदै आएको छ ।

मकवानपुरमा बढी पाइने सालकको नाउँमा कतिपय ठाउँमा सालक पार्क स्थापना भएका छन् भने कतिपय स्थानमा सालकका मुर्ति समेत बनाएर राख्न थालिएको छ ।