प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

रसुवा र मुस्ताङमा २४ घण्टामा दुई हिमनदीजन्य बाढी

२०८२ असार २६, बिहीबार ०७:२२ बजे

मकवानपुर । नेपालमा २४ घण्टाको अन्तरालमा दुईवटा हिमनदीजन्य बाढी आएको पुष्टि भएको छ ।

रसुवा र माथिल्लो मुस्ताङमा मंगलबार आएको बाढीलाई अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का विज्ञहरुले ‘सुप्राग्लेसियल’ तालबाट निकास भएको हिमनदीजन्य घटना भएको निष्कर्ष निकालेका हुन् ।

बाढी र हिमनदी तालहरूको निगरानी गर्दै आएको इसिमोडका वैज्ञानिकहरुले यसलाई ‘अभूतपूर्व घटना’ भनेका छन् ।

चीनको तिब्बत हुँदै रसुवा भएर बग्ने भोटेकोशी नदीमा मंगलबार बिहान करिब ३ बजेतिर लेदोसहितको विनाशकारी बाढी आएको थियो ।

यो बाढीमा परी ९ जनाको मृत्यु र २० जना बेपत्ता भएको राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सोही बाढीले रसुवागढीमा मितेरी पुल बगाउँदा नेपाल-चीन व्यापारिक नाका बिच्छेद भएको छ भने टिमुरे भन्सार, भन्सार यार्डमा राखिएका एक सय बढी गाडीहरु, जलविद्युत् आयोजना र सडकमा क्षति पुगेको छ ।

यसैगरी मंगलबार साँझ माथिल्लो मुस्ताङबाट आएको भिषण बाढीले पनि चार वटा पुल र सडकमा क्षति पुगेको थियो ।

लोमान्थाङ गाउँपालिका भएर बग्ने चुम्जुङ खोलामा आएको बाढीबाट मानवीय क्षति नभएकाले रसुवाको तुलनामा यो कम चर्चामा रह्यो ।

इसिमोडका विज्ञहरुले स्याटेलाइट तस्वीर विश्लेषणको आधारमा रसुवा र माथिल्लो मुस्ताङमा आएको बाढी सुप्राग्लेसियल लेक अर्थात् ढुंगा-माटोको थुप्रोले ढाकिएको हिमनदीको माथिल्लो सतहमा बनेको ताल फुटेर आएको निष्कर्ष निकालेका हुन् ।

इसिमोडले भनेको छ, ‘नेपाल-चीन सीमा नजिकै सुप्राग्लेसियल ताल सन् २०२४ को डिसेम्बरमा सानो पोखरीको रूपमा बनेको थियो ।

यो ताल २०२५ को जुन महिनामा उल्लेखनीय रूपमा ठूलो भई सोमबार फुटेको प्रारम्भिक स्याटेलाइट तस्वीर विश्लेषणबाट देखिएको छ ।’

नेपाल सरकारको तर्फबाट भने यस सम्बन्धी निष्कर्ष आउन बाँकी छ ।

जलवायु परिवर्तनको प्रभाव

रसुवा र मुस्ताङको बाढी, लिमीको हिमनदी बाढी, थामेको मोरेन ड्याम फुट्ने घटना र पाकिस्तान तथा अफगानिस्तानमा पनि भएका यस्तै प्रकृतिका घटनाहरूलाई इसिमोडले जलवायु परिवर्तनको असर भनेको छ ।

‘यी घटनाहरू जलवायु परिवर्तनको लक्षण हुन्,’ इसिमोडका हिमसंस्थान अनुगमन विशेषज्ञ शरदप्रसाद जोशी भन्छन्, ‘यी बाढीहरू सामान्य होइनन्, लेदोमाटो र ढुंगा मिसिएको विनाशकारी हुन् ।’

यसअघि चाइनिज एकेडेमी अफ साइन्सका डा। नितेश खड्काले पनि सुप्राग्लेसियल तालको कारण रसुवामा बाढी आएको बताएका थिए ।

उनले सार्वजनिक गरेको भूउपग्रहका तस्वीरमा रसुवाभन्दा उत्तरतर्फको उच्च हिमाली भेगमा ढुंगा-माटोको थुप्रोले ढाकिएको हिमनदीको सतह र भित्री भाग हुँदै पानी बगेको देखिन्थ्यो ।

२०२१ भन्दा पहिले त्यहाँ ताल देखिँदैन । तर सन् २०२२ मा साना तालहरू देखिन्छन् ।

२०२३ को ताल अझै ठूलो देखिन्छ भने २०२४ नोभेम्बर ३० ९१५ मंसिर २०८१० त्यो ताल हराएको देखिन्छ । २०२५ जुलाई ५ ९२१ असार २०८२ असार० भने त्यहाँ पुनस् ताल देखापरेको छ ।

२०२५ जुलाई ८ ९२४ असार २०८२०को तस्वीरमा भने सोही ताल बगेको स्पष्ट देखिन्छ । त्यो पानी माटो, ढुंगा सोहोर्दै बगेको र बाढीको रूप लिएर रसुवामा विपत्ति निम्त्याएको हुनसक्ने डा। खड्काको विश्लेषण छ ।

तिब्बत हुँदै बगेर नेपालको भोटेकोशी हुँदै त्रिशूलीमा मिसिएको सो बाढीले रसुवामा उच्च, नुवाकोटमा मध्यम र धादिङमा हल्का असर गरेको थियो ।

साना ताल, ठूला असर

इसिमोडको २०२१ को हिमताल सूचीअनुसार त्रिशूली नदीको माथिल्लो भागमा पर्ने तिब्बत स्वायत्त क्षेत्रको एउटा हिमताल उच्च जोखिममा रहेको पाइएको थियो । त्यसपछि इसिमोडले त्यसको निगरानी आवश्यक रहेको बताएको थियो ।

पछिल्लो तीन दशकमा त्रिशूली नदी प्रणालीमा पर्ने हिमतालको आकार ३३ प्रतिशत र संख्या १६ प्रतिशतले बढेको इसिमोडको तथ्यांकले पनि जोखिम उच्च रहेको संकेत गरेको थियो ।

अघिसम्म ०.०२ वर्गकिलोमिटर भन्दा ठूला तालहरूलाई मात्र खतरायुक्त मानिन्थ्यो । यस अनुसार नेपालमा २१ वटा, चीनको तिब्बतमा २५ वटा र भारतमा एउटा हिमताललाई इसिमोडले जोखिमपूर्ण सूचीमा राखेको थियो ।

तर अहिले साना र छोटो अवधिमा बन्ने हिम तालहरू पनि ठूला बाढीको स्रोत बन्न थालेका छन् । त्यसको उदाहरण रसुवा र माथिल्लो मुस्ताङका घटना हुन् ।

सन् २००० सम्म पाँचदेखि दश वर्षमा एकपटक मात्र यस्तो हिमनदीजन्य बाढी हुने अनुमान गरिन्थ्यो ।

तर सन् २०२५ को मे र जुन महिनामा मात्रै नेपाल, अफगानिस्तान र पाकिस्तानमा तीनवटा हिमनदीजन्य बाढी आइसकेका छन् ।

त्यसैले नेपालको रसुवा र मुस्ताङमा एकै दिन भएका बाढीका घटनालाई इसिमोडको विपद्‌ जोखिम न्यूनीकरण प्रमुख सास्वता सान्याल भन्छन्, ‘यी घटनाहरूको तीव्रता अभूतपूर्व छ ।

अहिले यी ‘क्यास्केडिङ’ ९एकपछि अर्को० घटनाहरू हुने कारणको अझ गहिरो अनुसन्धान आवश्यक छ, ।

इसिमोडले अहिलेको जस्तो प्रवृत्ति जारी रहे २१ औं शताब्दीको अन्त्यसम्ममा विपद्‌को जोखिम तीन गुणाले बढ्न सक्ने चेतावनी समेत दिएको छ ।

तापक्रम वृद्धि जिम्मेवार

अनुसन्धानकर्ताहरूका अनुसार यस्ता घटनाहरूमा तापक्रम वृद्धि र चरम तापक्रम मुख्य जिम्मेवार छन् ।

तापक्रम वृद्धिले दीर्घकालमा हिमनदी पग्लन र ताल बनाउने प्रमुख भूमिका खेल्छ भने चरम तापक्रमले एकैदिनको अत्यधिक गर्मीले हिउँ खस्ने, बरफ चिरिने वा जमिन भासिने जस्ता आकस्मिक घटनाहरू गराउँछ ।

सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिका–५ को थामे खोलामा २०८१ साउन ३२ गते विनाशकारी बाढी आएको थियो ।

सो बाढीले पर्यटकीय गाउँ थामेका ७ घर, ५ होटल र एउटा विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुगेको थियो ।

थामेमै १९८५ अगष्ट ४ ९२०४२ साल साउन २० गते० डिज–छो क्षेत्रबाट आएको बाढीले ३० लाख अमेरिकी डलर बराबर क्षति भएको थियो ।

हिमनदीजन्य विपद्का घटना तीव्र र अनियमित रूपमा बढ्दै जानुलाई विज्ञहरु जलवायु संकटको स्पष्ट लक्षण मान्छन् ।

त्यसैले अब थप गहिरो निगरानी, पूर्वसूचना प्रणाली र वैज्ञानिक मूल्यांकन प्रणालीको विकास नगरे विनाश अझ घातक बन्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली बताउँछन् ।

जलवायु परिवर्तनले पहाडी र हिमाली क्षेत्रमा विपद्को आवृत्ति, तीव्रता र जटिलता बढाइरहेको छ ।

तर सबै हिमतालहरुमा पूर्वसूचना प्रणाली छैन । नेपालका इम्जा र छो–रोल्पा ताललाई मात्र खतरापूर्ण मानेर पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

तर अन्य साना ताललाई पनि निरन्तर निगरानीमा राख्नुपर्ने आवश्यक देखिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। कमलराम जोशी बताउँछन् ।

सन् २०२५ को मे र जून महिनामा मात्रै हुम्लाको तिलगाउँको तालमा थर्मोकार्स्ट, अफगानिस्तानको अन्दोराब उपत्यका र पाकिस्तानको चितराल तथा हुन्जामा हिमनदी ताल फुटेका घटनाहरू भएका छन् ।

नेपाल, भारत र पाकिस्तानमा आएको बाढीले पनि यस वर्षको मनसुन उच्च जोखिमयुक्त हुने पूर्वानुमानलाई पुष्टि गरिदिएको छ ।

त्यसैले इसिमोडका महानिर्देशक डा। पेमा ग्याम्ट्शोका भन्छन्, ‘विपद् व्यवस्थापनमा स्रोत, दक्ष जनशक्ति र प्रविधिमा तत्काल ठूलो लगानी आवश्यक छ ।’

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम विभागका प्रमुख च्याङ्गोङ झाङ उच्च हिमाली र पहाडी क्षेत्रमा बाढी वा अन्य विपद् कसरी उत्पन्न हुन्छ भन्ने बुझ्न कठिन बन्दै गएको बताउँछन् ।

त्यसैले उनी भन्छन्, ‘अब भारी वर्षाले मात्रै बाढी ल्याउँदैन भन्ने कुरालाई ध्यानमा राखेर राहत, पुनर्निर्माण र पूर्वतयारीका योजना बनाउनु पर्छ ।’