हेटौंडा – नेकपा एमालेले मंसिर ४ गते हुने चुनाबमा मकवानपुरको दुर्ई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले एमालेका उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
मकवानपुरका प्रतिनिधी र प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरुको नामावली मध्यमा उम्मेदवार बन्नेहरुको नामको टुङ्गो लगाएको हो ।
एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलालाई उम्मेदवार बनाएको छ ।
यसैगरी क्षेत्र नम्बर–१ को (क) मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ठ र (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढुकाल र (ख) मा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो । यही असोज २३ गते हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार बनाउने निर्णय भएकाहरुले उम्मेदवार दर्ता गराउने छन् ।