काठमाडौं – बागमती प्रदेशसभाको लेखा समितिले पछिल्लो दुई आर्थिक वर्षमा प्रदेशमा गरिएको स्वास्थ्य उपकरण खरीद तथा कृषि अनुदान वितरण प्रक्रियाको छानबिन गर्ने जनाएको छ ।
लेखा समितिको सोमवार बसेको बैठकले प्रदेशको अनुदान तथा स्वास्थ्य उपकरण खरीद प्रक्रियामा भएको अनियमितता र त्रुटिको छानबिन गर्ने निर्णय गरेको छ । छानबिनका लागि उपसमितिसमेत गठन गरिएको बताइएको छ । लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरिएको सो समितिले बताएको छ ।
उपसमितिमा एमालेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामा र विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्याल तथा सदस्य सचिवमा दीपक अधिकारीलाई तोकिएको छ । छानबिन समितिको समय अवधि साउन १० गतेसम्म रहनेछ ।
उपसमिति सदस्य पौड्यालका अनुसार स्वास्थ्य उपकरण खरीदका विषयमा स्वास्थ्य मन्त्रालय र तत्कालीन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय तथा हालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत २०७६/७७ देखि हालसम्म वितरण भएका अनुदान वितरणसम्बन्धी शीर्षक, संख्या र रकम प्राप्त गर्नेको सम्पूर्ण विवरण मन्त्रालयसँग सात दिनभित्र उपलब्ध गराउन माग गरिने बताइएको छ । रासस