हेटौंडा – हेटौंडामा सञ्चालन हुन लागेको चौथो सस्करणको स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत यही जेठ १९ देखि ३० गतेसम्म संचालन हुने प्रतियोगिताको खेलतालिका देखि खेलमैदान सम्मको तयारी पुरा भएको प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
यस संस्करणमा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहनेछ । नेपाल आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, चर्च ब्वाइज क्लब, विदेशी टोली एभिनियर एफसी, बागमती युवा क्लब, बि.एफ.सि.चितवन, नवजन जागृती युवा क्लब र घरेलु टोली विजय युथ क्लब सहभागी रहने छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले बुलेट बाईक प्रदान गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन्।
प्रतियोगिता हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा समुह ए बाट नवजनजागृृती र बागमती युवा क्लब भिड्ने आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो खेल जेठ १९ गते बिहिबार दिउँसो ३ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ ।
यस्तो छ खेल तालिका

मकवानपुरको १० वटा स्थानीय तहको सहयोगमा हुने प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता संचालनको लागि सरकारी निकाय जिल्लाको १० पालिका, बागमती प्रदेश सरकार र जिल्ला समन्वय समितिबाट ८८ लाख सहयोग प्राप्त हुने आयोजकले जनाएको छ ।
त्यस्तै प्रायोजकबाट ८ लाख, ब्यक्तिगत तथा संस्थागतबाट ४ लाख ७५ हजार, विविधबाट ९२ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ । टिकट विक्रीबाट १६ लाख २५ हजार रुपैयाँ रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएको छ ।
खेलकुदको माध्यमबाट सहिदहरुप्रति सम्झना र सम्मान गर्ने उदेश्य सहित २०६४ सालमा जिल्ला फुटबल संघ मकवानपुरले पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
पहिलो पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लब र २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।तेस्रो संस्करणको प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो भने घरेलु टोली मकवानपुर–११ उपविजेता बनेको थियो।