प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

रहेनन् संस्कृतिविद् सत्यमोहन जोशी

२०७९ आश्विन ३०, आईतबार ०४:१५ बजे

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष ९आईसीयू०मा राखेर उपचार गरिँदै थियो ।

जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।

जोशी तीन पटक मदन पुरस्कार प्राप्त गरेका नेपाली भाषा, साहित्य र संस्कृतिका शिखरपुरुषको रुपमा परिचित थिए । उनका अमरकृतिहरू ‘“हाम्रो लोक संस्कृति”ले २०१३ सालमा, “नेपाली राष्ट्रिय मुद्रा”ले २०१७ सालमा र “कर्णाली लोक संस्कृति”ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनी कुनै समय राष्ट्रिय समाचार समिति र चिनिया रेडियोमा आबद्ध पत्रकार समेत थिए ।

उनी न्युजिल्यान्ड भ्रमण गर्ने पहिलो नेपाली नागरिक, विद्युतीय राहदानी प्राप्त गर्ने पहिलो नेपाली,जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित पहिलो नेपाली नागरिक हुन् । त्यस्तै उनी चीनमा अरनिकोको योगदानबारे विस्तृत अध्ययन गर्ने पहिलो नेपाली हुन् । नेपाल पुरातत्व र संस्कृति विभागको निर्देशक भएका बेला राष्ट्रिय नाचघरको स्थापना उनैले गरेका थिए ।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि थिए ।