काठमाडौं – बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेरा मृत फेला परेका हुन् ।
फडेरा सिमकोट घरबाट गत शुक्रबारदेखि वेपत्ता भएका थिए । त्यसपछि आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनीलाई सोमबार दिउँसो मृतावस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको बताईएको छ ।
घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान छ ।घटनाको विस्तृत जानकारी अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।
घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए । उनले शव परीक्षणका लागि बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा लैजाने बताए ।