प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

रसुवामा हिजोको बाढीमा हराएकाहरूको खोजी चल्दै

२०८२ असार २५, बुधबार १५:३० बजे

मकवानपुर ।  नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा हिजो बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।

बाढी पहिरोका कारण गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम गरेको छैन । बाटो र पुल बगाएकोले तत्काल रसुवागढी नाकामा पुग्नसक्ने अवस्था छैन ।

यसैबीच नेपाल प्रहरीले रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूकाे खोजी गरिरहेको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी भइरहेकाे बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

अहिलेसम्म नौ जनाको शव भेटिएकोमा पाँच जनाको पहिचान भएको छ । बाढीमा १९ जना हराएका थिए ।