प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरमा ७ बोरा गाँजा बरामद, घरधनी रूम्बा पक्राउ

२०७९ श्रावण ८, आईतबार १४:१५ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–९ खादेगाउँ बस्ने खैबा झाक्री भन्ने ५४ वर्षीय सोनाम सिंह रूम्बाको घरबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रुम्बाको घरबाट करिब १ सय ३१ किलोग्राम लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरिएको हो । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नामटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा ७ वटा बोरामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

गाँजा बरामद भएपछि घरधनी रूम्बालाई हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित झारफुक केन्द्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजा सहित रुम्वालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाईएको छ ।