प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

२०८० माघ ५, शुक्रबार २०:४३ बजे

हेटौंडा – मकवानपुर प्रहरीले शुक्रबार लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा। प्र ०१–००१ ख ५८६८ नम्बरको इलेक्ट्रिक गाडीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले तनहुँको व्यास नगरपालिका–६ का ३२ वर्षीय बमबहादुर विकले दुवै खुट्टाको घुँडामुनि र तिघ्रामा टेपले बेरेर ल्याएको अवस्थामा डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल बरामद गरेको छ ।

सोही बसमा आएका नवलपरासीको देवचुली नगरपालिका–७ का ३० वर्षीय अर्जुन विकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले कम्मरको भागमा लुकाएर ल्याएको अवस्थामा लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।