प्रहर खबर
 २०८३ भाद्र १६, मङ्गलवार    

हेटौंडा अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गयो, पिडित भन्छन्, ‘कडा कारवाही हुनुपर्छ’

२०७९ बैशाख ११, आईतबार १०:२१ बजे

हेटौंडा – हेटौंडा अस्पतालको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ । शल्यकृया मार्फत सुत्केरी भएकी बाराको जीतपुर सिमरा उपमहागरपालिका वडा नं.२२ घर भई हेटौंडा उपमहानगरपालिका वडा नं.९ एचआईडीमा डेरामा बस्दै आएकी ३१ वर्षीया सीता माया मोक्तानको मृत्यु भएको हो ।

प्रसुतीको लागि सीतालाई उनका आफन्तले यही बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याएका थिए । सामान्य अवस्थाबाट बच्चा जन्माउन सक्ने अवस्था नभएपछि ९ गते शनिबार उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात अति सघन कक्ष(आइसियू)मा राखेर उपचार गरेकोमा उनको १० गते बेलुका १० बजे मृत्यु भएको जानकारी पाएको मृतककी बहिनी देवी लामाले बताइन् । मृतकका आफन्तका अुनसार शिशु (छोरा)को अवस्था भने सामान्य रहेको बुझिएको छ ।

चिकित्सकलाई कारवाही र पिडित परिवारको जिम्ममा अस्पतालले लिनुपर्छ
अस्पतालको लापरवाहीको कारण आफ्नो छोरीको ज्यान गएको भन्दै उपचारमा संलग्न चिकित्सक कारवाही र पीडित परिवारको जिम्ममा अस्पतालले लिनुपर्ने मृतकका आफन्तहरुले बताए । उनका अनुसार अप्रेशन गरेकै दिनमा आइसियूबाट वार्ड सारेको केही घण्टापछि सिताको स्वास्थ्य अवस्था बिग्रिएको थियो । स्वास्थ्य अवस्थाको बारेमा बिरामी र उनको आफन्तले बारम्बार नर्स र डाक्टरलाई जानकारी गराउदा बेवास्ता गरेको मृतकी बहिनी देबी लामाले बताइन् । “शल्यक्रिया गरी सकेपछि डाक्टरले अवस्था सामान्य छ डराउनु पर्दैन भन्नु भयो, शल्यक्रिया गरेको २४ घण्टा नवित्दै दिदीको ज्यान गयो,” मृतकी बहिनी देवी भनिन, “चिकित्सकको लापरवाहीकै कारण मृत्यु भएको हो । घटनासत्य तथ्य सार्वजनिक गरी दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।”

अस्पतालद्वारा घटना लुकाउने प्रयास, कर्मचारी बेखबर 
हेटौंडा अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको जानकारी अस्पतालको स्रोतले बतायो । यस बिषयमा बुझ्न हेटौंडा अस्पतालका सुचना अधिकारी राझिव झालाई सम्पर्क गर्दा आफुलाई घटनाको परा जानकारी नभएको बताए । त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटालाई सम्पर्क गर्दा उनले भने, “म अस्पताल नआएको तीन चार दिन भयो, के–के भएको छ मलाई राम्रोसंग थाहा छैन, बुझ्नुपर्छ, त्यही बिषयमा छलफल तयारी हुँदैछ ।” अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाईको टेलिफोन नम्बरमा सम्पर्क गर्दा अस्पतालका एक कर्मचारीले “म अध्यक्ष ज्यु होइन्” जवाफ आयो ।

जिल्ला प्रहरीको आँखामा पट्टी
हेटौंडा अस्पतालको आगनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझ्दा प्रवक्ता टेक बहादुर कार्की भन्छन, “मृत्यु भएको रे भन्ने सुनेको हो, को हो ? के हो ? टिर्पोटमा आएको छैन, त्यो विषय हामीले हेर्ने पनि होइन ।”