प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमतीमा ५१.९% रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा १०% बढी

२०८२ असार २५, बुधबार ०८:०० बजे

मकवानपुर । असार महिनाको सुरुवातसँगै बागमती प्रदेशभर रोपाइँको चटारो सुरु भएको छ।

बागमती प्रदेशमा हालसम्म ५१.९ प्रतिशत अर्थात ६२ हजार ५६१ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको कृषि मन्त्रालयले जनाएको छ।

यो अघिल्लो वर्षको सोही अवधिमा भएको ४१ प्रतिशत रोपाइँको तुलनामा उल्लेख्य प्रगति हो।

यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । मकवानपुरका विभिन्न स्थानीय तहहरू : मनहरी, भीमफेदी, हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, बकैयाँ, बागमती गाउँपालिका, कैलाश र राक्सिराङ क्षेत्रका बस्तीहरू अहिले रोपाइँको चहलपहलले व्यस्त छन्।  

बिहान सबेरै ‘हा गोरु, हा’ भन्दै हलो जोत्ने किसानदेखि बेलुकी धान रोपेर थाकेका अनुहारमा पनि सन्तुष्टि झल्किन्छ।

"रोपाइँ त हाम्रो चाडजस्तै हो" भन्छिन् मकवानपुरगढी गाउँपालिकाकी माया तामाङ।

“धान रोपियो भनेमात्र वर्षभरिको चामल पुग्छ, नत्र पुग्दैन।” धान उत्पादनको पहिलो खुड्किलो रोपाइँ नै भएकाले यो समय किसानका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो । 

यद्यपि हेटौंडा आसपासका समथर भू–भागमा यान्त्रिकरण विस्तार हुँदै गएको देखिन्छ। ट्र्याक्टर र रोपाइँ मेशिनको प्रयोग गरेर आधुनिक विधिबाट काम गर्न थालिएको छ।

हेटौंडा–१६ का युवा कृषक शिव सापकोटा भन्छन्, “यो वर्ष हामीले १० रोपनीमा धान लगायौं। केही ठाउँमा रोपाइँ मेशिन प्रयोग गर्‍यौं तर अझै धेरैजसो काम श्रममै भर पर्छ।”

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा बागमती प्रदेशमा चार लाख ९८ हजार छ सय ३२ मेट्रिकटन धान उत्पादन भएको थियो ।