मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीतालकी कुमारी रुम्बासँग वर्षौंअघि आफूले बिराएको जग्गा छ तर उनी न त खनजोत गर्ने अवस्थामा छिन्, न त घर नजिकैको वन जङ्गलमा गएर दाउराघाँस गर्न नै पाउँछिन् ।
कुमारीको परिवारले खनजोत गरेर लगाएको खेती जङ्गली हात्तीले नोक्सान गर्ने मात्र होइन रातिको समयमा आएर दुःख दिनेसमेत गरेको छ ।
जोगीतालकी शान्तिमाया घलानको समेत उस्तै पीडा छ । गाईवस्तुलाई घाँसदाउरा गर्न जान पनि नपाउने । नजिकैको खोलामा नुहाइधुवाई गर्न जाँदा पनि सेनाले जरिबाना लगाउने अवस्था छ । घलानले जीवनमा भोगेका दुःखबारे भनिन्, “मध्यवर्तीमा समेत घाँसदाउरा गर्न पाएको छैन । घाँसदाउरा गर्न जाँदा सेनाले कचिया नै लैजान्छ ।”
उनले भनिन्, “कि विकल्प दिनु प¥यो, होइन भने जङ्गली कन्दमूल खोज्न पाउनु पर्छ । स्थानीय खोला नदीमा माछा मार्न पाउनु पर्छ । घरगोठ बनाउन काठ लिन जाँदा अवरोध गर्न पाइँदैन ।”
मनहरीमा पछिल्लो समय जङ्गली हात्तीको आतङ्क बढेसँगै अझ घर र घरमा भएको अन्नपातमासमेत क्षति पु¥याउने गरेको छ । जङ्गली हात्तीबाट जोगीतालकै रामबहादुर लोप्चनसमेत उस्तै पीडित छन् ।
जङ्गली जनावर प्रभावित स्थानीयको समस्या सुन्न प्रतिनिधि सभा सदस्य महेश बर्तौला जोगीताल पुगेका थिए । सांसद बर्तौलालाई जङ्गली हात्तीको पीडा सुनाउँदै स्थानीय समीर मोक्तानले भने, “जङ्गली हात्तीबाट हुने सम्भावित आव्रmमणले स्थानीय बासिन्दा त्रसित छन् । हात्तीबाट अन्नपात, घर र मानवलाई क्षति पु(याएको छ ।”
उनले सांसद बर्तौलासँग खोलाको समस्या जानकारी गराउँदै राप्ती खोलामा तटबन्ध निर्माण हुनुपर्ने माग गरे । स्थानीय डम्बरबहादुर मोक्तानले हात्तीबाट धनजनको क्षति हुनबाट रोक्न कङ्क्रीट पर्खाल आवश्यक भएको बताए । उनका अनुसार कङ्क्रीट पर्खाल केही स्थानमा निर्माण भए पनि नभएको स्थानबाट बस्तीमा छिरेर क्षति पु(याइदिने गरेको छ ।
मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न कङ्क्रीट पर्खाल निर्माण अनिवार्य भएको स्थानीयको भनाइ छ । ऐलानी जग्गाको बालीनालीको पनि क्षतिपूर्ति पाउनुपर्ने स्थानीयको माग छ । वडा नं. ६ का पूर्ववडाध्यक्ष गोपीलाल मोक्तानले वन्यजन्तुको आतङ्क रहेको बताए । २०३२ सालदेखि जग्गा उपयोग गरे पनि पुर्जा नपाएको गुनासो उनको छ ।
उनले कङ्क्रीट पर्खाल अधुरो हुँदा जङ्गली जनावरको त्रास कायमै रहेको र पुर्जाका लागि नापजाँच सुरु भए पनि निकुञ्जका कारण रोकिएकाले मध्यवर्ती क्षेत्रको कानुन संशोधन आवश्यक भएको बताए । उनका अनुसार बस्तीको सुरक्षाका लागि तटबन्ध निर्माण त्यत्तिकै आवश्यक छ ।
वडा नं.६ का वडाध्यक्ष युवराज थपलिया अव्यवस्थित बसोबासीले वन्यजन्तुको संरक्षण गर्नुपर्ने तर अन्नबाली क्षति हुँदा नपाउने अवस्था अन्त्य आवश्यक भएको बताए । उनले जङ्गली हात्ती नियन्त्रणका लागि राप्तीपारि नै कङ्व्रिmट पर्खाल लगाउनुपर्नेमा जोड दिए । मानव–वन्यजन्तुबिच द्वन्द्व कम गर्न सचेतना पनि आवश्यक रहेको वडाध्यक्ष थपलियाले बताए।
उनले भने, “अव्यवस्थित बसोबासीको निस्सा दिने तयारी छ र बस्ती जोगाउन तटबन्ध आवश्यक छ ।” सांसद बर्तौलाले मध्यवर्तीको समस्या सम्बन्धमा संसद्मा आवाज उठाएको बताए ।
उनले भने, “जङ्गली जनावरलाई झड्का दिन सोलार तारबार लगाउनु आवश्यक रहेको छ । मध्यवर्तीसम्बन्धी अहिलेको कानुनले विकास निर्माणमा पनि समस्या भएको छ ।”
उनले भने, “मध्यवर्तीको खारेजी वा सिमाना हेरफेर आवश्यक छ । निकुञ्ज ऐन संशोधन आवश्यक छ, यसका लागि पहल गरिरहेको छु ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।