हेटौंडा – बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वार्ड नं ४ को समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क जाँच शिबिर संचालन भएको छ ।
बस्तीपुर जेसीज हाँडीखोला बर्ष–२०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती (रमेश) को सभाध्यक्ष, मनहरी गाउपालिकाको अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको शिबिरमा ७८ जना स्थानीय महिलाले स्वास्थ्य परीक्षण गराएको थिए । शिविरको समुद्घाटन प्रमुख अतिथि अध्यक्ष कालाखेतीले परीक्षण किट प्राविधिक टोलीलाई हस्तान्तरण गर्दै शिबिर सुरु गरिएको हो ।
बिशेष गरी बनकरिया बस्तीलाई लक्षित गरी आयोजना गरिएको शिबिरमा २ जना सेवाग्राहीले १२ बर्षे परिवार नियोजनको अस्थायी साधनको सुविधा लिएका थिए । शिबिरलाई मनहरी गाउपालिका र स्व. जानुका रेग्मी स्मृति स्वास्थ्यसेवा तथा सूचना फाउन्डेशनबाट औषधि सहयोग भएको थियो ।
शिबिरलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले मानवीय सेवा बोकेको जेसीजले गरेको शिबिरबाट स्थानीयलाई बिभिन्न सहरका अस्पताल गएर जचाउँदा हुने खर्चबाट बिपन्न बर्गले लाभ लिने र मनहरी गाउपालिकाको अन्य वडामा पनि यस्तै स्वास्थ्य शिबिर संचालनको लागि हातेमालो गर्न सदैब तयार रहेको बताए ।
कार्यक्रममा वडाअध्यक्ष प्रकाश थापा, पशुपतिनाथ माविका ब्यवस्थापन समिति अध्यक्ष माधब गौतमले आमाहरु स्वस्थ्य भए बालबालिका पनि स्वास्थ्य हुने बताए । शिबिरका कार्यक्रम संयोजक जेसी कृष्ण यादबले शिबिर सफल पार्न सहभागी सम्पूर्णलाई आयोजकको तर्फबाट बिशेष धन्यबाद दिएका थिए ।