हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाको भुटनदेवि चौर बिहिबार साँझ दर्शकले भरिभाउ थियो । त्यहाँ नेपथ्य ब्याण्डको लाइभ सांगीतिक प्रस्तुती हेर्न सबै उमेर समूहका दर्शकको हजारौँ दर्शक उपस्थित थिए ।
मानवता प्रवद्र्धन तथा मानव सेवाका लागि मानव सेवा आश्रमद्वारा आयोजित ‘नेपथ्य लाइभ कन्सर्ट’ हेर्न साँझ ४ बजेपछि दर्शक मैदान प्रवेश गर्न सुरु गरेका थिए । त्यो क्रम दुई घण्टासम्म चल्यो ।
1670558404.jpg)
करिब ६ बजेपछि ड्रमसेट, गिटार, पियानो र मादल बज्न थाल्यो । गोधुली साँझमा १० बर्षपछि हेटौंडाको स्टेजमा उदाए नेपथ्यका गायक अमृत गुरुङ । ७ हजार क्षमताको चौर संगीत प्रेमी दर्शकले भरिभराउ देखेपछि गुरुङले सिर झुकाएर अभिनन्दन गरे ।
त्यसपछि सुरु भयो, अमृतको कालजयी सांगीतिकको अमृतरस । उनले नेपथ्यको सांगीतिक जीवनमा सबैभन्दा पहिले रेकर्ड भएको ‘आँगनैभरि हिउँ नै झरे, आरु फूल है टिपि राखे है..’ गीत प्रस्तुत गरे । सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको उक्त गीतसंगै नेपथ्यको उत्पती भएको मान्निन्छ ।
1670558476.jpg)
अमृतको जोशिलो गायन र प्रस्तुतिले २ घण्टाको अवधिमा हेटौंडेली दर्शकलाई नचायो । ‘भेडाको उन जस्तो..’, ‘छेक्यो छेक्यो..’, ‘लामपाते सुरती..’, ‘चरि मर्यो सिसैको गोलीले..’, ‘जोमसोमै बजारमा..’ आफ्ना कालजयी गीत गाएर हेटौंडा तताए ।
त्यसपछि नेपथ्यको ‘नैनताल..’, सिरफुल सिरैमा..’,‘जिवन हो घाम छाँया..’ गीम हेटौंडेली दर्शक झुमे । दर्शकले अमृतको स्वरमा स्वार मिलाएर गीतलाई पछ्याए ।
‘तालको पानी माछीले खानी..’,‘गाउँ गाउँबाट उठ..’ बोलको गीत गाउँदै दर्शकलाई सगीतमा झुम्न जोस थपिदिए । अमृतले आफु धेरै पटक हेटौंडा आएको बताउँदै ‘जोगले हुन्छ भेट...’ गीत गाए । उनले यसअघि ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर हेटौंडामा भएको बताए ।
1670558406.jpg)
सांगीतिक प्रस्तुतीको बिचविचमा दर्शक र नेपथ्यबीच कुराकनी पनि चल्थ्यो । अमृतले दर्शकलाई सोधे,‘कुन गीत सुन्नु हुन्छ ?’ दर्शकले एकै स्वरमा भने,‘रेश्म..’। उनले ‘सानोमा सानो कमलको हाँगा..’ भन्दा, उता दर्शकले,‘रेश्म..’ भन्दै दर्शकले संगै गाए ।
अमृतले ‘तालको पानी माछीले खानी..’ गाएपछि अन्त्यमा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो...’ गाउँदा दर्शकले नेपाली राष्ट्रिय झण्डा फहराएका थिए । पूर्णिमाको जून हेटौंडाको मनकामनाडाँडाबाट विस्तारै माथितिर उकालो लाग्दै थियो । धेरै बर्षपछि हेटौंडामा सांगीतिक साँझ बिताउन पाएकोमा दर्शक र आयोजकलाई धन्यवाद दिंदै अमृतले भने, ‘बाँचे भने फेरि भेटौला ।’
1670558404.jpg)
नेपथ्यको ३० बर्षे सांगीतिक यात्रामा सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ । नेपथ्यले यसअघि दुईपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत मकवानपुरेलीलाई संगीतमा झुमाएको थियो । यो सातौं पटक हो ।
ब्याण्डका ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझी रहेका छन् । अब नेपथ्य ब्याण्डले २५ मंसिरमा नारायणघाटको ‘क्याम्पाचौर’ सांगीतिक प्रस्तुती दिनेछ ।
तस्वीरः नेपथ्य र मानवसेवा आश्रम