हेटौंडा – हेटौंडा खानेपानी व्यावस्थापन बार्डले हेटौंडामा वितरण गर्दै आएको खानेपानी १२ प्रतिशत अर्थात दैनिक करिब २२ लाख लिटर चुहावट हुने गरेको छ । बोर्डले पत्रकार सम्मेलनमार्फत दैनिक वितरण हुने १ करोड ८२ लाख लिटर खानेपानीमा १२ प्रतिशत चुहावट हुने गरेको जनाएको हो ।
दैनिक वितरण हुने १ करोड ८२ लाख लिटर खानेपानीको १२ प्रतिशत २१ लाख ८४ हजार लिटर हुन आउँछ । पत्रकार सम्मेलनमा बोर्डका सदस्य इन्द्र नेपालले आर्थिक वर्ष २०७८/७९ को आर्थिक अवस्था र आर्थिक वर्ष २०७९/८० को कार्ययोजना प्रस्तुत गर्दै बोर्डले उत्पादन गरेको खानेपानी १२ प्रतिशत चुहावट भएको बताए । हेटौंडा उपमहानगरभित्रका २२ हजार २१४ धाराबाट ७ देखि ८ घण्टासम्म दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुँदै आएको उनले बताए ।
त्यस्तै बोर्डले गत आर्थिक बर्षमा १ अर्ब ६ करोड ४४ लाख २५ हजार ७१२ रुपैयाँ आम्दानी गरेको छ । पानी महशुल,जरिवाना,नयाँ धारा जडान,पानी परीक्षण शुल्क,बैंक व्याज,हेटौंडा उपमहानगरसंगको साझेदारी र अन्य निकाय तथा संघ संस्थाबाट उक्त रकम आम्दानी भएको नेपालले बताए । बोर्डले कार्यालय संचालन खर्च ४ करोड ७० लाख ४९ हजार ४२ रुपैयाँ, सेवा संचालन खर्चतर्फ २ करोड ९२ लाख ६४ हजार ८२५ रुपैयाँ खर्च भएको जनाएको छ ।
बार्डले चालुआर्थिक बर्षमा पुँजीगततर्फ ५१ प्रतिशत, कार्यालय सञ्चालनतर्फ २८ दशमलब ६६ प्रतिशत, सेवा सञ्चालनतर्फ २० दशमलब ३४ प्रतिशत खर्च गर्ने लक्ष्य लिएको छ । त्यसको लागि बार्डले चालु आर्थिक वर्षमा १८ करोड ८२ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकममा ७० प्रतिशत भन्दा बढी आन्तरिक आय रकम रहेको नेपालले बताए । बोर्ड आगामी वर्ष भीमफेदी स्थित कुलेखानी भैसे खोलाको पानी शुद्धिकरण गरेर वितरण गर्ने योजना रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, बोर्डका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपमहानगरका उपप्रमुख राजेश बाँनिया, बोर्डका कार्याकारी निर्देशक सुदर्शन ढकाल, वडाअध्यक्षहरु, बोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।