प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

भोलि सार्वजनिक बिदा, कमल थापालाई आपत्ति

२०७९ माघ २९, आईतबार १४:१४ बजे

हेटौंडा – नेपाल सरकारले फागुन १ गते सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले एक सुचना जारी गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो ।

गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।

तर जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।उनले आफ्नोे फेसबुकमा स्टास्टस लेख्दै विरोध जनाएका हुन् ।

२०४७सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १गते सार्वजनिक विदा दिने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन् । 

‘हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन। राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टीसमेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पाराकाष्टा हो। राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ?,’ उनले प्रश्न गरे ।