हेटौंडा – नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको निर्णयअनुसार गुरुपूर्णिमाको अवसरमा देशभरका जिल्ला समितिहरुले आआफ्ना जिल्लामा गुरु दिवस मनाएका छन् । यसैक्रममा नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले पनि शिक्षक सम्मान कार्यक्रम गरेको छ ।
संस्थामा आबद्ध शिक्षकहरुमध्ये ज्येष्ठताका आधारमा संस्थाका तर्पmबाट देवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद धिताल, शम्भुप्रसाद पौडेल र नवराज लम्साल गरी चार जना अग्रज शिक्षकलाई सम्मान गरिएको हो । यसैगरी माध्यमिक तहबाट सेवानिवृत्त नेपाली भाषाशिक्षक ध्रुवकुमार भुजेललाई रमेशमोहन अधिकारीद्वारा उहाँका आमाबुबाका नामबाट स्थापित शिव—सावित्री निवृत्त नेपाली भाषाशिक्षक सम्मान—२०८० अर्पण गरिएको छ ।
भुटनदेवी मावि हेटौंडाको सभाकक्षमा आयोजित कार्यक्रममा नेराशि संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईँ, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्गबहादुर पुलामी तथा कानुनी सल्लाहकार अरुणकुमार खतिवडाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष शिवदयाल यादवको अध्यक्षता, कोषाध्यक्ष अर्जुन पोखरेलको स्वागत तथा नगरसंयोजक शिवप्रसाद लामिछानेको उद्घोषणमा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले गरेका थिए । कार्यक्रममा शिक्षक पार्क निर्माण गर्नुपर्ने कुरालाई प्राथमिकतापूर्वक उठाइएको थियो ।