प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

अन्तरपालिका फुटसल: दोस्रो संस्करणको उपाधि हेटौंडाको पोल्टामा

२०८० माघ २, मंगलबार ०८:११ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा सम्पन्न दोस्रो संस्करणको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे अन्तरपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ ।

मकवानपुरगढी–३ स्थित भनु मिनी पिचमा सोमबार भएको फाइनल खेलमा हेटौंडाले आयोजक टोली मकवानपुरगढी गाउँपालिका खेलकुद बिकास समितीलाई ७–४ ले पराजित गरेको हो ।

हेटौंडालाई उपाधि दिलाउनका लागि समिराज थोक्कर, विश्व लामा र अनिश महर्जनले समान २–२ गर्दा उज्जल गौतमले १ गोल थपे । आयोजकका तर्फबाट सुजन भोम्जन, बिवस थिङ र समिर योञ्जनले समान १–१ गोल फर्काए । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडाका विश्व लामा घोषित भए ।

विजेता टोली हेटौंडाले ट्रफिसहित नगद १ लाख २५ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता मकवानपुरगढीले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौडाका समिरराज थोकर घोषित भए । हेटौंडा कै उत्कृष्ट गोलरक्षक सुजल लामा, सर्वाधिक गोलकर्ताको मकवानपुरगढीका सुजन भोम्जन र उदियमान खेलाडी मकवानपुरगढीका दुर्लव कुमार दुलाल घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई मकवानपुरगढी गाउँपालिकाका अध्यष दोर्जे लामा स्याङ्तन, उपाध्यक्ष मन कुमारी पाख्रिन लगायतले पुरस्कृत गरेका थिए ।

खेलकुद विकास समिति, मकवानपुरगढी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहेको थियो । पहिलो संस्करणको  उपाधि कैशल गाउँपालिकाले जितेको थियो ।