काठमाडौं – दक्षिण कोरियामा बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। आइतबार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमानस्थलको बारमा ठोक्किँदा यो घटना भएको हो।
दुर्घटना स्थानीय समयअनुसार बिहान ९ः०७ मा भएको थियो। योनहाप न्यूज एजेन्सीका अनुसार, विमानको ल्यान्डिङ गियरमा खराबी आएको कारणले यो दुर्घटना भएको बताइएको छ।
विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य गरी जम्मा १८१ जना सवार थिए। दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।
दुर्घटनाको कारणको थप अनुसन्धान भइरहेको र यस विषयमा विवरण सार्वजनिक गरिने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।