हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा र उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार हेटौंडा–२ स्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर हेटौंडा उपमहानगरको प्रमुखमा लामा र उपप्रमुखमा बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको स्थानीय निर्वाचन एमालेबाट उमेयरमा जितेकी लामा यस पटक मेयर उम्मेदवारी दर्ता गरेकी हुन् । उनले एमालेबाट गठबन्धनको उम्मेदवारलाइए पराजित गर्दै लामाले उपमेयरमा जितेकी थिइन् । त्यस्तै बानियाँ हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को वडाध्यक्षमा विजयी भएका थिए ।
नेकपा एकीकृत समाजवादीबाट मीना कुमारी लामा मेयर पदमा उम्मेदवार बनेकी हुन् भने नेपाली कांग्रेसबाट राजेश बानियाँ उपमेयर पदमा उम्मेदवार बनेका हुन्।
सत्तारुढ गठबन्धनबीच हेटौंडा उपमहानगरको वडा तहमा पनि तालमेलको प्रयास भएको छ । कतिपय वडामा गठबन्धनबीच तालमेल भएको छ भने कतिपय वडामा तालमेल हुन सकेको छैन ।
नेकपा एमालेले भने मेयर र उपमेयरसहित सबै वडाका उम्मेदवारले मनोनयन दर्ता गराइसेका छ। एमालेबाट हेटौंडाको मेयरमा अन्नत प्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेदवार दर्ता गराएका छन् ।