प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

हेटौंडाको मेयर एकिकृत समाजबादीको पक्का

२०७९ बैशाख ७, बुधबार ०२:५५ बजे

हेटौंडा – एकिकृत समाजबादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पाउने भएको छ । बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकिकृत समाजबादीलाई दिने निर्णय गरेको हो । उपमहानगरको उपमेयर भने नेपाली कांग्रेसले पाउने पाउने भएको छ । यसअघि देखिनै हेटौंडाको मेयर एकिकृत समाजबादीले पाउनु पर्ने भन्दै दावी गरेको थियो ।

पाँचदलीय सत्ता गठबन्धनमा देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति भएको छ । भागबण्डाअनुसार ११ मध्ये ७ उपमहागरपालिकाको मेयर कांग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भाबण्डामा सहमति जुटाएको हो ।

सहमतिअनुसार माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी र जसपाले एक एक उपमहानगरमा मेयर पाएका छन् । कांग्रेसले बुटवल, तुलसीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीमा मेयर उठाउनेछ ।यस्तै माओवादी केन्द्रले घोराही र जितपुर सिमरा पाएको छ भने एकीकृत समाजवादीले हेटौंडा र जसपाले जनकपुरधाम पाएको छ ।

यसअघि एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा मेयरको उम्मेद्वार सिफारिस गरिसेको छ । पार्टीको हेटौंडा उपमहानगरपालिका कमिटीको बैठकले मेयरमा पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल र पार्टी उपाध्यक्ष एवं वर्तमान उपमेयर मिना लामाको नाम सिफारिस गरेको थियो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कस्ले टिकट पाउँछ भन्ने टुङ्गो लाग्न बाँकी छ ।