प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु

२०७९ आश्विन २२, शनिबार ०३:४० बजे

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

शुक्रबारराति राप्ती गाउँपालिका–३ मुसरियामा लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।

मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उनले जानकारी दिए ।