काठमाडौं – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ सुरु भएको हो। आजको पेशी ट नम्बरमा परेको छ। हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो।
माघी पर्वका अवसरमा २०७६ माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताए।
यही अभिव्यक्ति बमोजिम पक्राउ गरी छानबिन गर्नुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका छन्।
यसअघि अदालत प्रशासनबाट दरपीठ भएको रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो।