प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

पाँच दिनदेखि हराएका दवाडी मृत भेटिए

२०८० बैशाख २४, आईतबार ०१:५९ बजे

गोरखा – गोरखाको मनास्लु क्षेत्रमा पदयात्राका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ। गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव शनिबार मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौं ल्याउन टानले पहल गरिरहेको बताए। काठमाडौं ल्याउन लागिएको दवाडीको शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ।