प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमती प्रदेशमामा डेंगुबाट चार जनाको मृत्यु

२०८० भाद्र १०, आईतबार ०६:४४ बजे

हेटौंडा – बागमती प्रदेशमा डेंगु सङ्क्रमणको कारण ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरमा दुई जना, धादिङ र मकवानपुरका एक/एक जना रहेका छन् ।

डेंगु सङ्क्रमणको कारण  ललितपुर इमाडोलकी ३८ वर्षीया महिला, थैवका ७१ वर्षीय पुरुष, मकवानपुरका ४१ वर्षीय पुरुष र धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिवार सम्म प्रदेशका १३ जिल्लामा तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२/१२ जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार ३९ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।