प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

हेटौंडामा उजुरी परेका दुई उम्मेदवारको उम्मेदवारी कायमै

२०७९ बैशाख १५, बिहीबार १३:४४ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका दुई जना उम्मेदवारविरुद्ध परेको उजुरीलाई निर्वाचन कार्यालयले सफाइ दिएको छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्षका उम्मेदवार नविन सिग्देल र १९ नम्बर वडाका नरनाथ सुवेदीविरुद्ध उजुरी परेको थियो ।

सिग्देलविरुद्ध परेको उजुरी फिर्ता भएको र सुवेदीविरुद्ध परेको उजुरी पुष्टि नभएपछि दुवै उम्मेदवारले सफाइ पाएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । शर्माका अनुसार अब दुबैको उम्मेदवारी कायमै रहने छ । सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको र सुबेदीविरुद्ध कर छली गरेको उजुरी परेको थियो । 

त्यस्तै हेटौंडा उपमहानगरपालिकामा एक जना वडासदस्यको उम्मेदवारी भने खारेज भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१ मा खुल्लातर्फ वडासदस्यमा उम्मेदवारी दर्ता गराएका पवन खतिवडाको उम्मेदवारी खारेज भएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

निर्वाचन कार्यातालिका अनुसार उम्मेद्वारी फिर्ता लिने समय शुक्रबार साँझ ५ बजेसम्म रहेको छ । उम्मेद्वारी फिर्ता लिने समय सकिएपछि शुक्रबार (भोलि)नै अन्तिम उम्मेद्वारको नामावली सार्वजनिक गरिने शर्माले बताए ।