हेटौंडा – नेपाल डेरी एसोसिएसनको २२ औँ वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशन हेटौंडा हुने भएको छ । एसोसिएसनले सोही अवसरमा भोली शुक्रबार एकदिने डेरी मेला आयोजना गर्ने भएको छ ।
बिहिबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचार प्रसार गर्न डेरी मेलाको आयोजना गर्न लागिएको जानकारी दिए । मेलामा दुधबाट उत्पादन हुने विभिन्न प्रकार उपभोग्य बस्तु, खुवाँ बनाउने आधुनिक मेसिन लगायत अन्य दुधसंग सम्बन्धित प्लान्ट तथा दुधजन्य पदार्थबाट बन्ने बस्तु अवलोकन तथा विक्रीको लागि राखिने अध्यक्ष सापकोटाले बताए ।
साधारणसभा तथा महाधिवेशन कार्यक्रम अन्तर्गत मेला हेटौंडा उपमहानगरपालिका वडा नं.२ स्थित पल्पसा सदनमा शुब्रकार बिहान १० बजे देखि अपरान्न ४ बजेसम्म हुने उनले बताए ।उनले डेरी मेला अवलोकन गर्नको लागि सम्पुर्ण हेटौंडावासीलाई आग्रह समेत गरे ।
शनिबार दिउँसो ३ बजेबाट एसोसिएसनको २२ औँ वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशन सुरु हुनेछ ।एसोसिएसनको नयाँ नेतृत्व चयनको लागि आइतबार विहान ८ बजेबाट साधरणसभा एवं अधिवेशनको बन्द्रसत्र सुरु हुनेछ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्ने मेला तथा साधारण सभामा देशभरबाट डेरी व्यवसायीहरुको सहभागिता रहने एसोसिएसनले जनाएको छ । वि.स.२०५५ सालमा स्थान भएको एसोसिएसनले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी निरन्तर क्रियाशिल रहदै आएको छ भने देशभरका २८० भन्दा बढी दुग्धजन्य उद्योगहरु आवद्ध रहेको छ ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष सुमित केडिया, एसोसिएसनका उपाध्यक्ष राजन दहाल, एसोसिएसनका बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, केन्द्रिय रामभक्त दहाल, मनोज कुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।