हेटौंडा – प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेट मा सट्टाबाजी गर्न, गराउनका लागि उत्प्रेरित गर्ने कलाकार र युट्युबर पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा गोरखा घर भई बनस्थली बस्ने ३५ वर्षीय हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय 'म्याकुरी' पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन्।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर 'जलन', मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्।
डाँगीका अनुसार उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विज्ञप्ति
1686830248.jpg)
