प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य: बागमती प्रदेश प्रमुख शर्मा

२०७९ बैशाख १८, आईतबार ०१:३४ बजे

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

आज मनाइदै गरिएको १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकहरुलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका हुन् । ‘श्रमिकहरुको सीप र दक्षता अभिवृद्धी गर्न विभिन्न तालिमहरु संचालन गर्दै क्षमता अनुसारको काम र काम अनुुसारको दाम पाउने वातावरण निर्माण गरी श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु हामी सबैको कर्तव्य हो ।’ प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै भनेका छन् ।

प्रमुख शर्माले भनेका छन्,‘संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का सन्दर्भमा सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । साथै, श्रमअधिकार सुनिश्चितताको लागि आफ्नो जीवन बलिदान गर्ने सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’

आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरन्जन भन्ने नाराका साथ उठाईएको संघर्षबाट प्राप्त अधिकार उपयोग गर्ने दिनका रुपमा आजको दिनलाई श्रमिक दिवस भनेर स्मरण गर्ने गरिएको शर्माले बताएका छन् । मे दिवसले श्रम क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उनले विश्वभर संचालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिकवर्गको अतुलनीय भूमिका रहेको प्रष्ट पारेका छन् । नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तन पश्चात् २०७२ सालमा बनाईएको संविधानले श्रमजीविवर्गका हक–अधिकार सुनिश्चित गरेको प्रमुखको सन्देशमा भनिएको छ ।

प्रमुख शर्माले आजको दिनले विश्वभरिका श्रमजीवीहरूलाई अझ ससक्त ढंगले एकताको सूत्रमा बाँध्न सघाउ पुर्‍याउने आफूले विश्वास गरेको पनि भनेका छन्। उनीहरुले भोगीरहेका बेरोजगारी, गरिबी, उत्पीडन, श्रम शोषण जस्ता समस्याबाट श्रमजीवि मजदुरहरुको उत्थान गर्ने कार्यमा सम्बन्धित पक्षलाई प्रेरणा मिलोस् भन्ने कामना पनि प्रमुख शर्माको छ ।