काठमाडौं – हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न दुई जना १५ वर्षपछि पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका–५ स्थायी वतन भएका २८ वर्षीय बिकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस(७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भिम बहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस(६ घर भई काठमाडौं चावहिल बस्ने ६८ वर्षीय गुमान ध्वज खड्का रहेका छन् ।
भे.१ च ५८१ नम्बरको जिप चालक केसीलाई कपिलबस्तु साविक शिवपुर गाविस–१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेको थियो ।
घटनाको थप अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको बताईएको छ ।