प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

कसले तोडफोड गर्‍यो हेटौंडामा मदन–आश्रितको सालिक ?

२०७९ बैशाख ९, शुक्रबार ०५:३६ बजे

तस्बिरः आरबी पौडेलको फेसबुकवालबाट 

हेटौंडा – मकवानपुरको हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड भएको छ । बिहीबार राती हेटौंडा उपमहानगरपालिका वडा नं.९ स्थित निर्माणधिन दिव्य बाल उद्यानमा रहेको सालिक तोडफोड भएको हो ।

सालिकको छेदन गरी भुइँमा लडाइएको अवस्थामा देखेपछि स्थानीयले पार्क ब्यवस्थापन समितिलाई जानकारी गराएका थिए । जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । तोडफोड भएको थाहा पाएलगत्तै समितिले प्रहरीलाई जानकारी गराएको थियो । तर, अहिलेसम्म तोडफोड गर्ने समूहको पत्ता भने लाग्न सकेको छैन । 

घटनाका विषयमा अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले तोडफोड गर्नेहरूको खोजतलास भइरहेको बताए । जनप्रतिनिधि र समितिका पदाधिकारीहरुसंग समन्वय गरी सालिक भएको स्थान वरपरका स्थानीयसँग सोधपुछ र सीसीटीभी क्यामेरा निरिक्षण गर्ने काम भइरहेको कार्कीले बताए ।

सालिक तोडफोड घटनाप्रति वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले खेद व्यक्त गर्दै दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गर्न माग गरेका छन् । यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर नै तोडफोड गरिएको वडा अध्यक्ष भण्डारीले आरोप लगाएका छन् । प्रतिमा तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।उक्त शालिक गत असार १४ गते तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट अनावरण गरिएको थियो ।