काठमाडौँ – यू–१९ साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाल टिम भारतसँग हारेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाली युवा टिम पेनाल्टी सुटआउटमा भारतसँग हारेको हो ।
नेपाललाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाल पराजित हुन पुग्यो ।
भारतका साहिल खुर्सिदले २५ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ७३ औँ मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो सेमिफाइनलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल प्रवेश गरिसकेको छ । अव फाइनल खेल्ने भारत र पाकिस्तानबीच हुनेछ ।